गठबन्धन दलले सभामुखमाथि महाभियोग प्रस्ताव ल्याउन सक्ने एमाले अध्यक्ष ओलीको आशंका
वि.सं.२०७९ चैत २३ बिहीवार १८:४४
shares

काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एमालेबाट सभामुख बनेकैले उनीमाथि महाअभियोग ल्याउन सक्ने आशंका गरेका छन् । बिहिबार काठमाडौंमा पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन दल कुनै पनि सिद्धान्तमा नरहेको भन्दै के गर्न हुन्छ के गर्न हुदैन भन्ने समेत ख्याल नगर्ने टिप्पणी गरे ।
‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए । तर पार लागेन । अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि बेर लाउँदैनन् ।’ उनले भने ‘यीनिहरुसँग २५ प्रतिशत मात्रै होइन बहमत नै छदैछ। कुनै लाज शरम छैन। के गर्न हुन्छ के हुँदैन कुनै सीमा छैन ।’
गठबन्धनवालाले एक पटक मात्रै नभएर अनेक पटक प्रधानन्यायाधीशमाथि महाभियोगको प्रयास गरेको आरोप लाएका ओलीले यी दलबाट सकरात्मक कामको अपेक्षा नगरेको तर्क गरे । ‘सुशीला कार्कीमाथि लगाए, चोलेन्द्रशम्शेर राणामाथि पनि लगाए । प्रधानन्यायाधीश को छ भन्ने होइन ।
न्यायिक हिसाबले भन्ने हो भने महाभियोग लगाएपछि दर्ता गरेर छ महिनासम्म घर्रामा राख्न मिल्छ? त्यो सुहाउने कुरा हो । ’ उनले भने, ‘अदालतलाई स्वतन्त्र ढंगले काम गर्न नदिने, त्यस्ता काम गर्न मिल्छ। तीनै पार्टी अहिले सरकारमा छन्। तीनीहरुको सकारात्मक भूमिका अपेक्षा गर्न सकिँदैन ।’
गठबन्धन अस्थायी भएपनि एमाले भएकाले देश बिग्रन नदिने बताए ।
त्यस्तै उनले वर्तमान राजनीतिमा ठग्ने प्रवृत्ति बढ्दै गएको समेत टिप्पणी गरे । उनले भने, ‘वर्तमान राजनीति अस्थिर र अस्वस्थ भएको छ । राजनीति ठगी खाने भाडो भएको छ । त्यसबाट देशलाई बचाउनु छ । राजनीति लाई स्थिर र स्थायित्व तिर लग्नु छ । सही विचार सही नीति तिर लग्नु छ । शान्ति सुव्यवस्था, सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई लग्नु पर्छ ।’
राजनीतिक पूर्वाग्रहमा नलागी कर्तव्य निष्ठ भएर काममा लाग्न पेशागत महासङ्घलाई ओलीको सुझाव छ । जनताको पसिनाको करबाट सुविधा लिएका व्यक्तिहरूले देश र जनताप्रति बफादार भएर भूमिका निर्वाह गर्नु पर्ने उनको भनाई छ ।

















