Dhulikhel Eco Banner new

भरतपुर महानगरको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन

8.71K
shares

काठमाडौं, २९ जेठ । स्थानीय निर्वाचन सकिएसंँगै भरतपुर महानगरपालिकाले अबको पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राख्ने भएको छ ।

यसअघि फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन गर्न नसकेको भन्दै प्रमुख दाहालले अब यसलाई पहिलो प्राथमिकतामा राख्ने बताइन् ।

विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीवार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।

महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता फोहर व्यवस्थापन, हरियाली प्रवर्द्धन गर्न सौन्दर्यकरण गर्ने लगायतका कामलाई पहिलो प्राथमिकता राख्ने उनको भनाइ थियो ।

‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प हो’ उनले भनिन्, ,‘पहिलाको निरन्तरताले मात्रै पुग्दैन । यो कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’

अन्तरराष्ट्रिय स्तरको फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाइ सकेको जानकारी दिँदै आगामी नगर सभामार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने उनले बताइन् । महानगरपालिकालाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुसरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाईमा अघि बढ्ने बताए । फोहोरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सकेमात्रै महानगरले समृद्धि हासिल गर्ने उनको भनाइ थियो ।

वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका दर्जन बढी संघ संस्थाले वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।

दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा निवन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरु गोडमेल, वृक्षारोपण तथा राप्ती तटिय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।