Dhulikhel Eco Banner new

डा. राउतको रेड अलर्टः स्वार्थी प्रवृत्तिविरुद्ध प्रतिरोध गर्न अपिल

5.58K
shares

काठमाडौं, १३ जेठ । जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतले देशमा प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको चेतावनी दिँदै देशव्यापी सतर्कता अपनाउन आग्रह गरेका छन्।

सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया नयाँबजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै डा. राउतले पछिल्लो समय देखिएको जनआक्रोश र निराशालाई
पश्चगमनतर्फ मोड्ने प्रयासप्रति कडा आपत्ति जनाएका हुन् ।

उनले भने, “केही स्वार्थी प्रवृत्तिका कारण जनतामा वर्तमान व्यवस्थाप्रति असन्तोष छ, तर यसको समाधान प्रतिगमन होइन, ‘नौलो गणतन्त्र’ हो।”

डा. राउतले जनमत पार्टीले अघि सारेको “नौलो गणतन्त्र” लाई अबको वैचारिक बहस र आन्दोलनको मूल एजेन्डा बनाउनु पर्ने आवश्यकता औंल्याए। उनले देशभर भइरहेका प्रतिगमनकारी गतिविधिहरूविरुद्ध एकजुट भई प्रतिरोध गर्न नेता, कार्यकर्ता र आमजनतालाई आह्वान गरे।

कार्यक्रममा माओवादी केन्द्र, कांग्रेस, एमाले, रा।स्व।पा। लगायतका प्रमुख दलहरू परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

उक्त कार्यक्रम जनमत पार्टी बरहथवा नगर समितिको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष जुगल सहनीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा। जय कान्त राउत र विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहको उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य संजय कुमार सिंह, मनोहरी बैठा, सर्लाही जिल्ला इन्चार्ज श्रीचन राय यादव, केन्द्रिय सदस्य राकेश कुमार मिश्रा, राष्ट्रिय परिषद् सदस्य त्रिभुवन सिंह लगायत नेताहरूले आफ्नो धारणा राखेका थिए।