आइतबार ९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
वि.सं.२०७९ असार १९ आइतवार १७:०६
shares

काठमाडौं, १९ असार । पुँजी बजारमा आइतबार ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । शेयर कारोबार हुने हप्ताको पहिलो दिन उल्लेख्य मात्रामा बजार बढेको थियो । यो दिन साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, साञ्जेन जलविद्युत, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको थियो ।
आइतबार बिओके डिबेञ्चरको मूल्य सर्वाधिक ९.३१ प्रतिशतले घट्दा ङादी ग्रुप पावरको मूल्य ३.२३ प्रतिशत र प्रभु सेलेक्ट फन्डको सेयरमूल्य ३.१८ प्रतिशत, नबिल ब्यालेस्ड फन्ड ३ को इकाई २.५५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य २.१९ प्रतिशतले घटेको छ ।
आइतबार कारोबारमा ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजारको कारोबार भएको छ । कम्पनीले जारी गर्ने चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेकाले आइतबार सर्वाधिक कारोबार भएको हो । हकप्रदको लोभमा लगानीकर्ताहरू झुम्मिँदा यो कम्पनीको सबैभन्दा धेरै कारोबार भयो ।

















