Dhulikhel Eco Banner new

शेयर बजारमा १८ अंकको गिरावट, औषत कारोबारमा भने सामान्य सुधार

4.91K
shares

काठमाडौं, ११ चैत । यो साता नेप्स परिसूचक १८ अंकभन्दा बढीले ओरोलो लागेको छ । साताको चार कारोबार दिनमा शेयर बजार १८ दशमलव १६ अंकले घटेर १९१५ दशमलव १४ विन्दुमा झरेको हो ।

यो गत हप्ताको भन्दा शून्य दशमलव ९४ प्रतिशतले कम हो । गत हप्ताको अन्तिम कारोबार दिन शेयर बजारमा १९३३ दशमलव ३० विन्दुमा बन्द भएको थियो । हप्ताभरको चार कारोबार दिनमध्ये एक दिन मात्रै बजार सकारात्मक बनेको थियो भने बाँकी तीन दिन नकारात्मक रहेको थियो । यो साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा २२ अंकको वृद्धि भएको थियो । अरु दिन भने शेयर बजारमा लगातार रुपमा दोहोरो अंकले घटेको थियो ।

त्यसैगरी, यो साता सेन्सेटिभ इण्डेक्स ३ दशमलव ७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ४१ अंक घटेको छ । नेप्से घटेपनि यस साता कारोबार रकम भने सामान्य बढेको छ । गत साता दैनिक औषतमा १ अर्ब २६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यस साता नेप्सेको दैनिक औषत कारोबार रकम १.३५ प्रतिशतले बढेको छ । त्यस्तै यो हप्ता नेप्सेको दैनिक औषत कारोबार संख्या ६.२३ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ११.२६ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण २३ अर्ब रुपैयाँ घटेको छ । गत साता २७ खर्ब ९३ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता घटेर २७ खर्ब ७० अर्बमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । यो साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ३७ अंक बढेको छ । गत साता २१०१ दशमवल ९१ विन्दुमा रहेको व्यापार उपसमूहको परिसूचक यो हप्ताको २८ दशमलव ८४ अंक बढेर २१३० दशमलव ७५ विन्दुमा पुगेको छ । लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक २.६२ प्रतिशत घटेको छ । गत साता ३५७२ दशमलव १५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो हप्ता ९३ दशमलव ५८ अंक घटेर ३४७८ दशमलव ५७ विन्दुमा झरेको छ ।

अंकका आधारमा यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २८ दशमलव ८४ अंक बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८६ दशमलव ०५ अंक घटेको छ ।