GBIME

संघीयतालाई बलियो बनाउन पनि पुँजीबजारको भूमिका महत्वपूर्ण छ : मुख्यमन्त्री शाही

1.55K
shares

काठमाडौं, ४ असार । कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सपन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशोसियसन नेपालको सहयोगमा पुँजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

कर्णाली प्रदेशको बजेटमा पत्रकाहरुले पनि सकारात्मक समाचार सम्प्रेसण नगरेको गुनासो गरे । ‘हामी मात्रै यस्तो प्रदेश हो जसले आगामी आर्थिक वर्षको बजेट ४ अर्ब घटाएर ल्याएका छौँ, तर यहाँ वित्तीय अनुशासनको त कुरै छैन’ उनले भने, ‘पत्रकारले पनि वाही वाही भनेर लेखेनन् ।’

मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गरे । पुँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पुँजीबजारको बारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु पर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए ।

उनले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पुँजीबाट लगानीको शुरुवात गर्न पनि लगानीकर्तालाई आग्रह गरे । संघीयताको भावनालाई हामीले अझैँ पनि बुझेका छैनौँ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पुँजीबजारले सहयोग गर्ने बताए ।

नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै लगानीकर्ता, बैकर्सहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीको जोड थियो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानकिर्ता साक्षरताको अवस्था भने कमजोर रहेको बताएका छन् । देशव्यापी रुपमा पुँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु अघि बढाएको डा.अधिकारीले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका शेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिए । शेयर बजारको विककासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको शाहीले बताए । उनले सचेतनता कार्यक्रमले कर्णलीका लगानीकर्ताहरुलाई हौसला मिल्ने जनाएका छन् ।

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकाले उद्योग धन्दा निराशाजनक अवस्थामा रहेको बेला पुँजीबजार मार्फत औद्योगिक लगानीका लागि पुँजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिए । ‘हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वालम्वी भन्दा आयातमुखि अर्थतन्त्रको नकारात्मक असर परेको छ,’ उनले भने ।

कार्यक्रममा नेपाल मर्चेन्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पँुजीबजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघसँगको सहकार्य सचेतना कार्यक्रम संचालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गरे ।

यता नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पँुजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताए ।