बेलकामा पहिलो पटक प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव हुने
वि.सं.२०८२ चैत १४ शनिवार १६:२८
shares

काठमाडौं, १४ चैत । बेलका नगरपालिकामा पहिलो पटक “प्राकृतिक, सांस्कृतिक र साहसिक महोत्सव” आयोजना हुने भएको छ। बेलका नगर पर्यटन विकास समिति, उदयपुर विकास बोर्ड र जिल्ला समन्वय समिति उदयपुरको संयुक्त आयोजनामा २०८३ वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने जनाइएको छ।
आयोजकका अनुसार बेलकाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो। कार्यक्रममा जलयात्रा (राफ्टिङ), पर्यटकीय स्थल अवलोकन, सांस्कृतिक प्रस्तुति तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी मुख्य आकर्षण रहनेछन्।
कार्यक्रम आयोजकको तर्फबाट पूर्व नगर प्रमुख बलदेव चौधरीले बेलकालाई पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।


















