युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
वि.सं.२०७९ चैत २ बिहीवार १७:४९
shares

काठमाडौं, २ चैत । नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार भएको खेलमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान सुरक्षित गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्धतिको आधारमा ९ रनले पराजित गरेको हो । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ् गरिरहेको अवस्थामा खराव मौसमका कारण खेलेका नतिजा डीएल पद्धतिका आधारमा निकालिएको थियो ।
खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय पारी खेले ।
कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे । कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय पारी खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा अविजित १ सय १ रन बनाए । यस्तै भ्रित्य अरबिन्दले ९४ रनको योगदान दिदा कप्तान मुहमद वासिमले ६३ रन बनाए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए । युएईलाई हराएसँगै नेपालले लिग टूको तेस्रो स्थानमा रहदै जिम्बावेको टिकट काटेको हो ।
सन् २०१९ बाट सुरु लिग टूमा नेपालले ३६ खेलमा ४० अंक जोड्यो । युएईले ३६ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहदै लिग टू को अन्त्य गरेको छ ।

















