Dhulikhel Eco Banner new

करिब १५ अंकले बढ्दै दशैँ बिदामा नेप्से, कारोबार रकममा ३२ प्रतिशतको गिरावट

7.23K
shares

काठमाडौं, १५ असोज । नेप्से परिसूचक यो साता करिब १५ अंकले बढेको छ । यो साता १४ दशमलव ८० अंकले बढेको नेप्से १८५३ दशमलव ७६ विन्दुमा पुगेको हो ।

दशैँ बिदा हुनुभन्दा अघिल्लो हप्ता नेप्से केही सकारात्मक देखिएको छ । गत साता १८३८ दशमवल ९६ विन्दुमा कारोबार रोकिएको नेप्से यो साता १८५३ दशमलव ७६ विन्दुमा पुगेको हो । यो साता सेन्सेटिभ इण्डेक्स ३.९९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ ।

यस साता नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता ७१ करोडको मात्र शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३२.२१ प्रतिशत घटेको छ । त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३९.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३१.४३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि बढेको छ । गत साता २६ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण, यस साता २२ अर्ब रुपैयाँ बढेर २६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । बाँकी १ उपसमूहको परिसूचक यस साता स्थिर रहेको छ । यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२६ प्रतिशत बढेको छ । त्यसैगरी, अन्य उपसमूहको परिसूचक भने यस साता १ प्रतिशत घटेको छ ।