एक वर्षमा ३० करोड बढीको यार्चागुम्बा बिक्री
वि.सं.२०७९ भदौ ३ शुक्रवार १०:५५
shares

काठमाडौं, ३ भदौ । गत आर्थिक वर्षमा ३० करोड रुपैयाँभन्दा बढीको यार्चागुम्बा बिक्री भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा गत आर्थि वर्षमा ३० करोड ९२ लाख २३ हजार रुपैयाँको बिक्री भएको हो । यो अघिल्लो आर्थिक वर्षकोभन्दा ११ करोड बढी हो ।
नेपालबाट विभिन्न देशहरुले अघिल्लो आर्थिक वर्षमा ३०० किलोग्राम यार्चागुम्बा २० करोड रुपैयाँमा किनेका थिए । गत वर्षभने ५०३ किलोग्राम यार्चागुम्बा ३० करोड ९२ लाख २३ हजार रुपैयाँमा बिक्री भएको छ । बहुमूल्य जडीबुटी यार्चागुम्बा नेपालबाट सबैभन्दा धेरै कम्बोडिया गएको छ । गत आर्थिक वर्षमा कम्बोडियाले ३१८ किलोग्राम यार्चा खरिद गरेको छ । यसबाट २० करोड ६९ लाख ४३ हजार रुपैयाँ नेपाल भित्रिएको छ ।
त्यस्तै यो अवधिमा नेपालबाट भियतनामले ३ करोड २४ लाख ८१ हजार रुपैयाँमा ७१ किलोग्राम, हंकंकले ३ करोड ९४ लाख ९१ हजार रुपैयाँमा ६९ किलोग्राम कोरियाले ६७ लाख १५ हजार रुपैयाँमा १० किलोग्रम, बेलायतले ५९ लाख ८६ हजारमा १० किलोग्राम, सिंगापुरले ९९ लाख ४६ हजार रुपैयाँमा ११ किलो, फ्रान्सले ६३ लाख ७८ हजार रुपैयाँमा ११ किलो यार्चागुम्बा किनेका छन् ।
त्यस्तै, रुसले ६ लाख ५६ हजार रुपैयाँमा १ किलो, युक्रेनले १ लाख ९३ हजार रुपैयाँमा १ किलो, अमेरिकाले ४ लाख २१ हजारमा १ किलो र थाइल्याण्डले जम्मा २४ हजार रुपैयाँको यार्चागुम्बा किनेका छन् ।

















