GBIME

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ सार्वजनिक

1.46K
shares

काठमाडौं, २५ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा लिखित ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक पुस्तक लोकार्पण गरिएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइला, गंगा प्रसाद उप्रेती, पूर्व उपकुलपति प्रा.डा. बासुदेव त्रिपाठी, ग्रन्थका लेखक ओली लगायतले सो पुस्तक लोकार्पण गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा बोल्दै विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काँइलाले किताब हेर्दा सानो भएपनि त्यसभित्र अनमोल कुरा रहेको बताए। उनले किताब अंग्रेजी संस्करणमा पनि प्रकाशन गर्न आग्रह गर्दै ओलीका विभिन्न विषयलाई लिएर व्यक्त गरेको प्राज्ञिक विचारहरूको महत्वपूर्ण संकलन भएको धारणा व्यक्त गरे ।

‘ओलीले विभिन्न समयमा प्रस्तुत गरेको भाषण, भाषा, विचार, राजनीति साहित्य, कला, संस्कृति, धर्म, दर्शन, सभ्यता, सम्पदा ,इतिहास, विज्ञान लगायत विभिन्न विषयमा व्यक्त गरेको प्राज्ञिक विचारहरूको महत्वपूर्ण संकलन हो यो पुस्तक केपी शर्मा ओलीको प्राज्ञिक सम्बोधन ।’ काँइलाले भने ।

लोकार्पण समारोहमा समीक्षात्मक विचार राख्दै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर कुष्णप्रसाद घिमिरेले केपी शर्मा ओलीको कृतिमा कुरा समेटिएकाले नेपाल र नेपालीले जान्नै पर्ने महत्वपूर्ण कुराको संकेत किताबमा गरेको बताए । उनले ग्रन्थमा समेटिएका ३७ वटा आलेखमा नेपालको गौरव र धरोहरको विषय समेटिएको भन्दै राजनीतिक, प्राज्ञिक, चिन्तनशील देखि सबै व्यक्तिलाई कृति पठनीय मननीय र गरिमायुक्त भरिपूर्ण रहेको बताए ।

‘यो कृति नेपालमा बस्ने जुनसुकै पार्टी, जुनसुकै चिन्तन भएका, जुनसुकै व्यक्तिले पनि पढ्नुपर्ने अत्यन्तै पठनीय छ । यसमा हाम्रा पुर्खाहरू को थिए, उनीहरूले केके योगदान दिए र त्यो गुण हामीमा कसरी मुखरित हुँदै छ ? हामी हाम्रा ऋषिमुनीहरूका र सन्ततीहरुका कुराहरूलाई अगाडि बढाउँदै छौं वा विखण्डनकारी चिन्तन लिएर राष्ट्रलाई, जातीलाई ,समाजलाई ध्वस्त पार्दै छौं । त्यो कुरामा सचेत गराउने कुरा यसमा छ ।’ उनले भने ।

पूर्व राजदूत निलाम्बर आचार्यले नेपाली भूमि प्रेरणादायी भएको भन्दै हाम्रो भूमिको महत्व किताबले बताइदिएको बताए । उनले भने ‘हाम्रो भूमिको महत्व किताबले बताइदिएको छ । त्यसले हामीलाई ठूलो आत्मविश्वास दिने छ ।’ उपकुलपति प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले ओलीको उल्लेखित कृतिमा समावेश भएको मध्य योग निबन्ध वैचारिक निबन्ध रहेको भन्दै कृतिमा ज्ञानको गहिराई् , वैचारिकता र समाजशास्त्री सोचले अभिप्रेरित विचारहरू पढ्न सकिने बताए ।

ओलीको कृति ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधनलाई शशी लुमुम्बूले सम्पादन गरेका हुन् भने रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ । पुस्तक लोकार्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, उपकुलपति देखि विश्वविद्यालयका उपकुलपतिहरू ,प्राज्ञ, राजनीतिज्ञ, साहित्यकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।