GBIME

दूरसञ्चार मस्यौदाको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन मन्त्री शर्माको आग्रह

846
shares

काठमाडौं, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार नियमनका लागि नयाँ विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी हुन् ।

‘मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ ।’ आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णय नगरेको उनको भनाई छ ।

‘यो विषय अघि बढेकै छैन, यो विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्न चाहन्छु । राष्ट्रलाई अहित हुने कुरा गर्ने छैनौँ । ’ उनले मस्यौदा तयार भइसक्यो, यसले कसैलाई पोस्ने काम गरिरहेको छ भनेर भ्रमपूर्ण समाचार बाहिर आइरहेको भन्दै संसदमा पनि यस्तो विषय उठेकोमा असन्तुष्ट व्यक्त गरेकी छन् ।