Dhulikhel Eco Banner new

प्रसारण लाइनमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

6.16K
shares

काठमाडौं, ११ पुुस । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको क्षेत्र कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था गरिएको हो।

प्रसारण लाइन निर्माणका क्रममा देखिँदै आएको समस्या समाधान गर्ने उद्देश्यले गरिएको उक्त व्यवस्था गत कात्तिक २७ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ।

नयाँ व्यवस्था अनुसार प्रसारण लाइनमुनि पर्ने जग्गा कित्ताकाट गर्न पाइने भए पनि सुरक्षा मापदण्ड भने यथावत् रहने छन्। राइट अफ वे क्षेत्रमा घर, भवनलगायतका संरचना निर्माण गर्न, अग्ला रुख रोप्न वा जोखिमयुक्त गतिविधि गर्न पाइने छैन।

प्रसारण लाइनको सुरक्षित सञ्चालन, मर्मतसम्भार तथा सार्वजनिक सुरक्षालाई ध्यानमा राखी लाइनको केन्द्रबाट दायाँ र बायाँ निश्चित दूरीसम्मको क्षेत्रलाई राइट अफ वे तोक्ने गरिन्छ। यसको चौडाइ प्रसारण लाइनको भोल्टेज, टावरको उचाइ, तारको स्याग तथा प्राविधिक मापदण्डका आधारमा निर्धारण हुन्छ।

हाल प्रचलित मापदण्ड अनुसार ६६ तथा १३२ केभी प्रसारण लाइनका लागि केन्द्रबाट दायाँ–बायाँ ९–९ मिटर गरी १८ मिटर, २२० केभीका लागि १५–१५ मिटर गरी ३० मिटर र ४०० केभीका लागि २३–२३ मिटर गरी ४६ मिटर राइट अफ वे तोकिएको छ।

प्रसारण लाइन निर्माण गर्दा टावर प्याड पर्ने जग्गा भने मुआब्जा दिएर अधिग्रहण गरिन्छ र त्यसको स्वामित्व आयोजनाको नाममा रहने व्यवस्था छ। तर, राइट अफ वे क्षेत्रमा पर्ने जग्गाको स्वामित्व जग्गाधनीकै नाममा कायम रहने गरी हाल मूल्याङ्कन गरिएको रकमको १० देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिँदै आएको छ।

सम्बन्धित आयोजनाबाट जग्गा प्राप्तिको निर्णय र क्षतिपूर्ति प्रदान गरिएको प्रमाणसहित लेखी आएमा जग्गाधनीकै नाममा स्वामित्व कायम रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ।

यसअघि राइट अफ वे क्षेत्रमा पर्ने जग्गाको पुरै कित्ताकाट गर्न नपाउँदा नामसारी, धितो राख्न तथा जग्गा कारोबार गर्न कठिनाइ हुँदै आएको थियो।