Dhulikhel Eco Banner new

विजय लघुवित्तको एफपिओमा पहिलो दिनमै १८ गुणा बढी आवेदन

5.5K
shares

काठमाडौं, २२ पुस । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। कम्पनीको एफपिओमा पहिलो दिनमै मागभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन खुला भएको पहिलो दिन साँझ ५ बजेसम्म ७ लाख १९ हजार २०९ जना लगानीकर्ताबाट ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन परेको छ।

साविक नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछि संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत कायम भएको थियो। नियामक व्यवस्था अनुसार ७०ः३० को अनुपात कायम गर्नुपर्ने भएकाले सो अनुपात मिलाउन कम्पनीले एफपिओ निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्कासन गरेको छ। एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

यो एफपिओ निष्कासन तथा बाँडफाँड सम्पन्न भएपछि कम्पनीको कुल सूचीकृत शेयर संख्या ७९ लाख १७ हजार २२०.५९ कित्ता कायम रहनेछ।

एफपिओको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ।