लुम्बिनी प्यालेस रिसोर्टले मेरियट ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्ने
वि.सं.२०८२ पुस २४ बिहीवार १२:२३
shares

काठमाडौं, २४ पुस । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–५ मा विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवा स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय ब्रान्ड लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पा अन्तर्गत पाँचतारे होटल सञ्चालन गर्ने भएको छ।
यो रिसोर्ट मेरियट इन्टरनेशनलसँगको सहकार्यमा सञ्चालन हुन लागेको हो। काठमाडौं उपत्यकाबाहिर मेरियट ब्रान्ड अन्तर्गत सञ्चालन हुने यो पहिलो होटल हुनेछ। यसका लागि लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र मेरियट इन्टरनेशनल (ग्लोबल हस्पिटालिटी लाइसेन्सिङ एस.ए.आर.एल.) बीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भइसकेको छ।
सम्झौतामा रिसोर्टका अध्यक्ष दीपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपानेसहित सञ्चालक तथा उच्च व्यवस्थापन टोली र मेरियट इन्टरनेशनलका एसिया–प्रशान्त क्षेत्र हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोविल, दक्षिण एसियाका विकास विभागका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट तथा उपाध्यक्ष जुही रोयलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे रिसोर्ट सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ। यो रिसोर्ट नेपालकै पहिलो जल–आधारित रिसोर्ट (वाटर रिसोर्ट) का रूपमा विकास गरिनेछ। यहाँ अत्याधुनिक जल फोहरा, सङ्गीतसँगै चल्ने फोहरा, त्रि–आयामिक जल पर्दा, मोटर बोटिङ, मिनी क्रुज, जल रेस्टुरेन्ट, जल स्पा तथा विभिन्न जल–मनोरञ्जन गतिविधिहरू उपलब्ध हुनेछन्।
जलवायु परिवर्तन, वातावरणीय सन्तुलन र दिगो विकासलाई ध्यानमा राख्दै रिसोर्टलाई नेपालकै पहिलो हरित प्रमाणीकरण ९गोल्ड० प्राप्त वेलनेस र इको रिसोर्टका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। साथै, जैविक प्रमाणीकरणसहित नेपालकै पहिलो जैविक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट का रूपमा विकास गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।
खेल पर्यटन प्रवर्द्धनका लागि एउटै परिसरभित्र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारसहित नेपालकै पहिलो बहु–विशेषता रिसोर्ट निर्माण गरिने जनाइएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको सांस्कृतिक महत्व झल्काउने उद्देश्यले बुद्ध थिम पार्क, साना स्तूपहरू, बुद्ध संग्रहालय, ध्यान केन्द्र तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिनेछ।
रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि जल, इको, वेलनेस, खेलकुद र सांस्कृतिक पर्यटनका विविध अनुभव एकै स्थानमा प्राप्त गर्न सकिने कम्पनीको विश्वास छ। साथै, अन्तर्राष्ट्रिय सम्मेलन, विवाह तथा विशेष कार्यक्रमका लागि समेत यो रिसोर्ट उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
रिसोर्टको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल व्यवस्थापन क्षेत्रमा करिब २६ वर्षको अनुभव भएका विजयननमरन शन्मुगमलाई सञ्चालन तथा सम्पत्ति विकास विभागका उपाध्यक्षका रूपमा नियुक्त गरिएको छ। साथै, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूलाई परामर्शदाताका रूपमा पनि संलग्न गरिएको छ।
स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग तथा पर्यटन प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष र परोक्ष योगदान पुर्याउने लक्ष्यका साथ रिसोर्ट अगाडि बढिरहेको कम्पनीले जनाएको छ। यससँगै, कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि आवश्यक तयारीसमेत अघि बढाएको छ।



















