अप्पर रिचेत हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ
वि.सं.२०८२ माघ २७ मंगलवार १२:१७
shares

काठमाडौं, २७ माघ । २ मेगावाट क्षमताको विद्युत आयोजना सञ्चालन गरिरहेको अप्पर रिचेत हाइड्रोपावर प्राइभेट लिमिटेडले प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौता माघ २६ गते अप्पर रिचेत हाइड्रोपावर र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्पन्न भएको हो। सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कम्पनीले आफ्नो ४० करोड रुपैयाँ चुक्ता पुँजीमध्ये २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने जनाएको छ। आइपिओ निष्कासन प्रक्रियाका लागि कम्पनीले निकट भविष्यमै आफूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने र क्रेडिट रेटिङको कार्यसमेत अघि बढाएको जानकारी दिएको छ। कम्पनीका अनुसार आगामी साउन–भदौ महिनाभित्र आइपिओ निष्कासन गर्ने लक्ष्य लिइएको छ।
अप्पर रिचेत हाइड्रोपावरले २०८१ साल भदौ महिनादेखि विद्युत उत्पादन सुरु गरिसकेको छ। कम्पनीको आयोजना गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित छ।
कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आइपिओ सम्बन्धी जानकारी सर्वसाधारणका लागि सार्वजनिक गरेको हो।















