Dhulikhel Eco Banner new

उपदान–पेन्सन कोषको १ अर्ब १० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

2.78K
shares

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै उक्त रकम ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार लगानी अवधि सन् २०२६ फेब्रुअरी २७ देखि सन् २०२७ फेब्रुअरी २७ सम्म रहनेछ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख रुपैयाँ तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ बराबर रकम छुट्याएको जनाएको छ।

निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको मितिमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवेदन दिनुपर्नेछ।

राष्ट्र बैंकले मुद्दती निक्षेपका लागि केही अनिवार्य मापदण्ड तय गरेको छ। निक्षेप लिन चाहने संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम कुल पूँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्नेछ।

त्यस्तै, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशतभन्दा बढी तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा माथि ननाघेको हुनुपर्ने सर्त राखिएको छ। खुद तरल सम्पत्ति न्यूनतम सीमाभन्दा कम नभएको, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको तथा पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद मुनाफामा रहेको संस्था मात्रै योग्य हुनेछन्।

राष्ट्र बैंकका अनुसार शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्था भए त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। समस्याग्रस्त घोषणा गरिएको संस्था भए उक्त घोषणा फुकुवा भएको पनि कम्तीमा ६ महिना नाघेको हुनुपर्नेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्तसमेत राखिएको छ।

केन्द्रीय बैंकले यस निर्णयमार्फत बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्नुका साथै उपदान तथा पेन्सन कोषको रकम सुरक्षित तथा प्रतिफलमुखी रूपमा परिचालन गर्ने उद्देश्य राखिएको जनाएको छ।