Dhulikhel Eco Banner new

सात महिनामा १४ लाखभन्दा बढी स्मार्टफोन आयात, ५ अर्ब राजस्व संकलन

2.91K
shares

काठमाडौं, ११ फागुन । नेपालमा स्मार्टफोनको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्यांकअनुसार साउनदेखि माघसम्म स्मार्टफोन आयात ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

विभागका अनुसार उक्त अवधिमा नेपालमा २६ अर्ब ६८ करोड रुपैयाँ भन्सार मूल्य बराबरका १४ लाख १४ हजार थान स्मार्टफोन आयात भएका छन्। यी मोबाइलबाट मात्रै राज्यले ४ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १८ अर्ब ९३ करोड रुपैयाँ मूल्यका १२ लाख २२ हजार २९ हजार थान स्मार्टफोन आयात भएको थियो। यस वर्ष मोबाइल आयात रकम ७ अर्ब ७० करोड रुपैयाँले बढ्दै ४०.५९ प्रतिशतको वृद्धि देखिएको हो।

माघ महिनामा मात्रै ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका १ लाख ६२ हजार थान मोबाइल नेपाल भित्रिएका छन्। गत वर्षको माघमा २ अर्ब २६ करोड रुपैयाँका १ लाख १८ हजार मोबाइल आयात भएको थियो। यस आधारमा माघ महिनामा मात्रै मोबाइल आयात रकम ४९ प्रतिशतले र संख्यात्मक रूपमा ३७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

नेपालमा आयात भएका मोबाइल उपभोक्तासम्म पुग्दा मूल्यमा उल्लेख्य वृद्धि हुने गरेको छ। आयात मूल्यमा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत र ५.६५ प्रतिशत अन्तःशुल्क लाग्ने भएकाले मात्रै १८.६५ प्रतिशत रकम सरकारलाई राजस्वका रूपमा तिर्नुपर्छ। साथै आयातकर्ता र विक्रेताको करिब ५.५ प्रतिशत मार्जिन तथा होलसेल–रिटेल चरणमा थपिने खर्चका कारण बजारसम्म पुग्दा मोबाइलको मूल्य करिब ४० प्रतिशतसम्म बढ्ने गरेको मोबाइल आयातकर्ता संघले जनाएको छ।

यस हिसाबले माघमा आयात भएको ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको मोबाइल बजारमा पुग्दा करिब ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ।

तथ्यांकअनुसार नेपालमा मासिक औसत १ लाख ६२ हजार स्मार्टफोन आयात भइरहेको छ र सोही अनुपातमा बजारमा खपत पनि भइरहेको देखिन्छ। बजारमा एउटा मोबाइलको औसत मूल्य करिब २९ हजार रुपैयाँ पर्ने अनुमान छ।

मोबाइल व्यवसायीका अनुसार नेपाली उपभोक्तामाझ २० हजारदेखि ३० हजार रुपैयाँ मूल्यका स्मार्टफोनको माग सबैभन्दा बढी छ। त्यसपछि मध्यम तथा उच्च मूल्यका मोबाइलको खपत बढ्दै जाँदा औसत खर्च प्रतिमोबाइल करिब ३० हजार रुपैयाँ पुगेको देखिन्छ।