स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी बैंक खाता
वि.सं.२०८२ फागुन १४ बिहीवार १०:३५
shares

काठमाडौं, १४ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका ९ जना उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका छन् । स्याङ्जाको दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल तथा स्वतन्त्र २४ उम्मेदवारमध्ये हालसम्म ९ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयबाट २४ जनामध्ये १७ जनाले बैंक खाता खोल्ने सिफारिस लगेको भए पनि हालसम्म नौ जनाले मात्रै बैंक खाता खोलेको जानकारी निर्वाचन कार्यालयमा प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले जानकारी दिए।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिएको आर्थिक सहायता र तोकिएको खर्चको सीमाभित्र रहेर खर्च गर्नुपर्ने नियमको कार्यान्वयन गर्नका लागि उम्मेदवारले छुट्टै बैंक खाता खोली सोही मार्फत आम्दानी खर्च बुझाउनुपर्ने भएको उनले बताए।
निर्वाचनका बेला हुने खर्चलाई पारदर्शी बनाउनाका साथै घुमाउरो पाराले अनियन्त्रित रूपमा हुने खर्चलाई निर्वाचनले तोकेको सीमाभित्र ल्याउनका लागि उम्मेदवारको छुट्टै बैंक खाता खोल्न भनिएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एवम् आर्थिक कारोबार आचारसंहिता अनुगमन अधिकृत थमनारायण अर्यालले बताए।



















