Dhulikhel Eco Banner new

जुन महिनामा १ अर्ब ७२ करोडको विद्युत निर्यात

5.27K
shares

काठमाडों, १७ असार । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटलाई सो बराबरको विद्युत बिक्री गरेको हो ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री भएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिश्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ) मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ । त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको थियो ।