राष्ट्र बैंकले सञ्जीवनी लघुवित्तलाई समस्याग्रस्त सूचीबाट हटायो, दुई वर्षपछि नियमित कारोबारको अनुमति
वि.सं.२०८२ चैत १९ बिहीवार १२:११
shares

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउने निर्णय गरेको छ। नियामकको निर्णयसँगै दाङको तुलसीपुरमा मुख्य कार्यालय रहेको उक्त लघुवित्तले अब पुनः सर्वसाधारणसँग नियमित वित्तीय कारोबार गर्न पाउने भएको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले चैत १९ गते सूचना प्रकाशित गर्दै चैत ५ गते बसेको निर्णयअनुसार संस्थालाई समस्यामुक्त गरिएको जनाएको हो। लामो समयदेखि रोकिएको संस्थाको नियमित सेवा करिब दुई वर्षभन्दा बढीपछि पुनः सञ्चालनमा आउने भएको छ।
यसअघि २०७९ भदौ २२ गते गम्भीर अनियमितता देखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो। त्यसपछि राष्ट्र बैंकले संस्थाको व्यवस्थापनमा हस्तक्षेप गर्दै सुधारका विभिन्न कदमहरू लागू गरेको थियो।
निरीक्षणका क्रममा सञ्चालक तथा उच्च पदाधिकारीबाट ऋण दुरुपयोग भएको पाइएको थियो। नक्कली ऋणी खडा गरेर व्यक्तिगत फाइदाका लागि कर्जा वितरण गरिएको खुलेपछि नियामकले कडा कदम चालेको थियो।
राष्ट्र बैंकले २०७८ सालमै सुधार प्रक्रिया सुरु गर्दै संस्थासँग स्पष्टीकरण मागेको भए पनि जवाफ सन्तोषजनक नभएपछि कडा निर्णय लिइएको थियो। पछिल्ला सुधारहरू प्रभावकारी भएपछि भने संस्थालाई पुनः सञ्चालनको अनुमति दिइएको हो।















