एमआरपी र स्पष्ट लेबल अनिवार्य, नियम उल्लंघन गरे कडा कारबाही चेतावनी
एकैदिन ५१ वटा फर्ममा स्थलगत अनुगमन
वि.सं.२०८२ चैत २७ शुक्रवार ०८:२५
shares

काठमाडौं — बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न सरकारले कडाइ गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले सूचना जारी गर्दै सबै आयातकर्ता, उत्पादक तथा विक्रेतालाई यस व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
विभागका अनुसार विदेशबाट आयात गरिने वस्तुमा आयातकर्ताको नाम, ठेगाना र एमआरपीसहितको लेबल अनिवार्य रूपमा टाँसिएको हुनुपर्नेछ। त्यसैगरी स्वदेशी उद्योगबाट उत्पादन हुने वस्तुमा मूल्य, उत्पादन ब्याच नम्बर, तौल तथा उपभोगसम्बन्धी आवश्यक विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। उपभोक्तालाई सही सूचना उपलब्ध गराउने र बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो निर्देशन दिइएको विभागले जनाएको छ।
यससँगै विभागले एमआरपी उल्लेख नभएका वा अस्पष्ट लेबल भएका वस्तु बिक्री नगर्न व्यवसायीलाई सचेत गराएको छ। लेबलमा उल्लेख गरिएको मूल्यभन्दा बढी रकम लिएर बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको पनि स्पष्ट पारिएको छ। नियम उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ।
विभागले उपभोक्तालाई पनि सचेत रहन आग्रह गरेको छ। कुनै पनि वस्तु खरिद गर्दा त्यसको एमआरपी, उत्पादन विवरण र प्रयोगसम्बन्धी जानकारी ध्यानपूर्वक हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ। यसले उपभोक्ता अधिकार संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। पछिल्लो क्रममा एकैदिन ५१ वटा फर्ममा स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा बिलबिजक जारी गर्ने प्रक्रिया, अखाद्य वस्तुको बिक्री, कालोबजारी नियन्त्रण तथा एमआरपी कार्यान्वयनजस्ता विषयमा विशेष ध्यान दिइएको विभागले जनाएको छ।
अनुगमनमा परेका अधिकांश फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ भने आवश्यक परे कडा कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा अनुगमन गरिँदै आएको विभागले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणमा अझ प्रभावकारी ढंगले काम भइरहेको दाबी गरेको छ।


















