Dhulikhel Eco Banner new

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने

663
shares

काठमाडौं, ८ वैशाख । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीमध्ये २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सार्वजनिक रूपमा बिक्री गर्न लागेको हो।

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात १७ लाख २० हजार कित्ता सर्वसाधारणका लागि विनियोजन गरिएको छ। सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गर्दै ३ लाख ४४ हजार कित्ता शेयर छुट्याइएको छ। सोही नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर विनियोजन गरिएको छ।

कम्पनीले पहिलो चरणमा वैशाख १७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्नेछ। स्थानीय बासिन्दाले वैशाख ३१ गतेसम्म तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन्। दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले पाएको छ।