Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सव, २० लाखभन्दा बढी ग्राहकलाई सेवा

728
shares

काठमाडौं, ८ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा आज आफ्नो १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ।

वि।सं। २०६४ साल वैशाख ७ गते २०औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको बैंकले हालसम्म २० लाख ११ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। देशका सातै प्रदेशमा आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले २०० शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करिब २ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले सातै प्रदेशमा करिब ९४६ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। साथै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान नै जीवनदान’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा २० शाखाबाट ५५० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

यसै अवसरमा विभिन्न प्रदेशका शाखाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्, जसबाट करिब ५०० सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि निःशुल्क प्राप्त गरेका छन्।

प्रविधिमैत्री सेवा विस्तार गर्ने क्रममा बैंकले मोबाइल बैंकिङमार्फत केवाईसी विवरण अनलाइन अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ। साथै, नेपालमै पहिलो पटक ¥यापिड एपीआई आधारित बैंकिङ प्रणालीमार्फत ग्राहकको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष जोड्ने सेवा सुरु गरिएको जनाएको छ। यसले ग्राहकलाई वास्तविक समयमा ब्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्ने सुविधा दिनेछ।

त्यसैगरी, फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा ‘फोनपे कर्पोरेट सोलुसन’ सेवा सञ्चालनमा ल्याइएको छ, जसबाट माइक्रो, मिड तथा कर्पोरेट व्यवसायीले शाखामा उपस्थित नभई डिजिटल माध्यमबाट कारोबार गर्न सक्नेछन्।

बैंकले ‘बैंक अफ द इयर २०२४ र २०२५’ जस्ता अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ। हाल बैंकका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान हुँदै आएको छ।