आर्थिक वर्ष २०८३/८४ का लागि सेबोनले माग्यो सरोकारवालाको सुझाव
वि.सं.२०८३ वैशाख १६ बुधवार १४:४१
shares

काठमाडौं, १६ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाबाट सुझाव आह्वान गरेको छ।
बोर्डले प्रत्येक आर्थिक वर्ष बजारको व्यवस्थित, प्रभावकारी र दिगो विकासका लागि नीति तथा कार्यक्रम तयार गर्दै आएको उल्लेख गर्दै आगामी वर्षका लागि सुधारमुखी तथा व्यावहारिक सुझाव आवश्यक रहेको जनाएको छ।
सेबोनका अनुसार लगानीकर्ता, व्यवसायी, नियामक निकाय तथा अन्य सरोकारवालाको रायलाई समेटेर बजार विकास, विस्तार र सुधारका लागि नीति निर्माण प्रक्रिया अघि बढाइनेछ।
इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना सुझाव जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेलमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ।


















