Dhulikhel Eco Banner new

साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छः प्रधानमन्त्री शाह

897
shares

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले शान्तिका अग्रदूत गौतम बुद्धले देखाएको मार्ग दुःख निवारणको मार्ग भएको उल्लेख गरेका छन्। उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै दुःख, यसको कारण, निवारण र निवारणको मार्गबारे मानव जीवनका आधारभूत सत्यका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री शाहले ज्ञानको महत्त्वमा जोड दिँदै अँध्यारोलाई उज्यालोको अभावका रूपमा व्याख्या गरेका छन्। उनले उज्यालोको किरणले प्रवेश गरेपछि अँध्यारो स्वतः अन्त्य हुने उल्लेख गर्दै समाजमा ज्ञानको प्रसार आवश्यक रहेको बताएका छन्।

उनले गौतम बुद्धको जन्मभूमि नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा उभिएको उल्लेख गर्दै बुद्धका शिक्षाले विश्वलाई मार्गदर्शन गरिरहेको बताएका छन्।

सन्देशमा उनले परम्परागत क्रान्तिको धारणा माथि संकेत गर्दै “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ” भन्ने अभिव्यक्ति दिएका छन्। उनले ‘ज्ञ’ लाई ज्ञानको प्रतीकका रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणका लागि चेतना आवश्यक रहेको बताएका छन्।

बुद्धको प्रसिद्ध उपदेश “अप्प दीपो भवः” उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई आत्मनिर्भर र सचेत बन्न आग्रह गरेका छन्।