इमानदार व्यवसायीका लागि लगानीमैत्री वातावरण बनाइनेछः अर्थमन्त्री वाग्ले
वि.सं.२०८३ वैशाख २० आइतवार १०:०४
shares

काठमाडौं, २० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी तथा व्यवसायीका लागि लगानी अनुकूल वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता जनाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण विकास गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
उनले नेपालको निजी क्षेत्रबारे आफू राम्रोसँग जानकार रहेको उल्लेख गर्दै अपराधजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे। “निजी क्षेत्रका व्यक्तित्वसँग म परिचित छु, तर अपराधजन्य गतिविधि सरकारलाई स्वीकार्य छैन,” उनले भने, “यस्ता कार्य रोकिनु नै पर्छ।”
अर्थमन्त्री वाग्लेले स्पष्ट नीतिगत व्यवस्था मार्फत निजी क्षेत्रमैत्री युगको सुरुवात गर्न लागिएको जानकारी दिए। लगानी प्रवर्धन र सहजीकरणका लागि सरकारले उच्च स्तरको इमानदारिता कायम गर्ने तथा सुशासनमा कुनै सम्झौता नगर्ने उनले बताए।
उनका अनुसार सुशासन र सुदृढ नीतिगत व्यवस्थापनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नेछ। आगामी बजेटमार्फत नेपाललाई अझ उदार अर्थतन्त्रतर्फ उन्मुख गरिने उल्लेख गर्दै उनले निजी क्षेत्रको सम्पत्तिको सुरक्षा र कर भार न्यूनीकरणका लागि नीतिगत सुधार गरिने बताए।
अर्थमन्त्रीले आर्थिक रूपान्तरणका लागि सरकारले मार्गचित्र तयार गरिसकेको जानकारी पनि दिए। पञ्चवर्षे स्थिर सरकारमार्फत नीतिगत निरन्तरता कायम गरी देशलाई बलियो आर्थिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए।
उनले राजनीतिक स्थिरता, डिजिटल प्रविधिको विस्तार र कानुनी सुधारलाई आर्थिक विकासका आधार स्तम्भका रूपमा अघि बढाइने बताए। भौगोलिक तथा संरचनात्मक अवरोध हटाउन डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। साथै, पुराना र असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए।
उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा प्रभावकारी कर प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाइने बताए। “सीमित समूहको प्रभावलाई निस्तेज गर्दै स्वच्छ व्यावसायिक वातावरण निर्माण गरिनेछ,” उनले भने, “विगतका कमजोरी दोहोरिन नदिन उच्च नैतिक मापदण्ड कायम गरिनेछ।”


















