Dhulikhel Eco Banner new

साना व्यवसायी विस्थापित हुने डर भ्रम मात्र होः सांसद शाक्य

1.35K
shares

काठमाडौं, १३ वैशाख । रास्वपाका सांसद टेकबहादुर शाक्यले नेपाल विकासशील देशतर्फ उन्मुख भइरहेको र आर्थिक स्तर उकास्ने दिशामा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारणसभामा बोल्दै शाक्यले मुलुकमा विगत ३५ वर्षदेखि कायम बेथितिहरूलाई सुधार गर्ने अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रसर रहेको उल्लेख गरे।

उनले पुराना राजनीतिक दलहरूले सिर्जना गरेको अव्यवस्थालाई अन्त्य गर्न वर्तमान सरकार दुई तिहाइ बहुमत नजिकको समर्थनसहित अघि बढिरहेको बताए। साथै, सुशासन स्थापना गर्न सरकार र संसदले प्रभावकारी भूमिका खेल्ने उनले स्पष्ट पारे।

बजारमा पारदर्शिताको अभाव रहेको उल्लेख गर्दै शाक्यले अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणाली लागू गर्ने कदमलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। “अहिलेसम्म एमआरपी नहुँदा बजारमा देखिएको अपारदर्शिता पनि एक प्रकारको बेथिति हो,” उनले भने, “अब ती समस्याहरूलाई क्रमशः व्यवस्थित गर्दै जाने प्रयास भइरहेको छ।”

सांसद शाक्यले साना तथा मझौला व्यवसायीहरू विस्थापित हुने भन्ने आशंका भ्रममात्र भएको दाबी गरे। सरकार तथ्य, अध्ययन र सरोकारवालाहरूको सुझावका आधारमा नीति निर्माण गर्नेमा विश्वस्त रहन उनले आग्रह गरे।

उनले अन्त्यमा नेपाल आर्थिक उन्नति र विकासशील राष्ट्रको दिशामा अगाडि बढिरहेको दोहोर्याउँदै सरकार त्यस लक्ष्यप्रति प्रतिबद्ध रहेको बताए।