Dhulikhel Eco Banner new

ऊर्जा खपत बढाउने र अतिरिक्त विद्युत् निर्यात गर्ने योजनामा सरकार, दिनभित्र सुझाव दिन आग्रह

1.52K
shares

काठमाडौं, १३ वैशाख । ऊर्जा खपत वृद्धि र विद्युत् निर्यातलाई व्यवस्थित गर्ने लक्ष्यसहित सरकार अघि बढेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट राय–सुझाव आह्वान गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारणको सुझाव आवश्यक रहेको बताइएको छ। इच्छुकहरूले मस्यौदा अध्ययन गरी तीन दिनभित्र आफ्नो सुझाव उपलब्ध गराउन सक्नेछन्।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधार कार्यसूचीको बुँदा नं. ७४ क र ९ग० लाई कार्यान्वयन गर्ने क्रममा विराज भक्त श्रेष्ठ नेतृत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरिएको थियो। सो समितिले रणनीतिको मस्यौदा तयार गरी बिहीबार मन्त्रीसमक्ष पेश गरेको मन्त्रालयले जनाएको छ।

प्रस्तावित रणनीतिमा आन्तरिक ऊर्जा खपत वृद्धि गर्ने, विद्युत् उपयोगलाई विस्तार गर्ने तथा खपतपछि बाँकी रहने विद्युत् ऊर्जा निर्यातलाई व्यवस्थित र दिगो बनाउने लक्ष्य राखिएको छ। मन्त्रालयका अनुसार यसमा नीतिगत सुधार, पूर्वाधार विकास तथा बजार व्यवस्थापनका विभिन्न उपायहरू समेटिएका छन्।

मस्यौदा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ। सरोकारवालाले इमेल वा फिडब्याक पोर्टलमार्फत आफ्ना सुझाव पठाउन सक्नेछन्। प्राप्त सुझावहरू समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।