Dhulikhel Eco Banner new

कुनै पनि विधेयक छलफल नगरी अगाडि बढ्दैनः अध्यक्ष दाहाल

1.05K
shares

काठमाडौं, १३ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित सरोकारवालासँग छलफल नगरी अघि नबढाइने स्पष्ट पारेका छन्।

आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विधेयक प्रक्रियामा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने नयाँ अभ्यास सुरु गरिएको बताए। उनका अनुसार अब विधेयक संसद्मा दर्ता भएपछि पहिलो दिनमै सम्बन्धित पक्षलाई बोलाएर उनीहरूको समस्या, भावना र मनोविज्ञान समेट्ने व्यवस्था लागू गरिएको छ।

अध्यक्ष दाहालले भने, “अब कुनै पनि विधेयक सरोकारवालासँग छलफल नगरी अगाडि बढ्दैन भन्ने प्रणालीको सुरुवात गरेका छौं।” उनले विगतमा विधेयक कसरी आएको भए पनि संसद्मा त्यसबारे गम्भीर छलफल गरी निष्कर्षमा पुर्‍याइने उल्लेख गरे।

उनले केही अवस्थामा मन्त्रीहरूले विधेयक प्रस्तुत गरेपछि त्यसको विस्तृत पृष्ठभूमि र सरोकारवालासँगको समन्वय स्पष्ट नहुने समस्या अझै रहेको स्वीकार गरे।

कार्यक्रममा अध्यक्ष दाहालले संसद्मा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै यसले नीति निर्माण प्रक्रियालाई थप ऊर्जावान बनाउने विश्वास व्यक्त गरे।