‘तेज’ ब्रान्ड तोरी तेल न्यूनस्तरको भेटियो, बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
वि.सं.२०८३ जेठ १४ बिहीवार १६:२२
shares

काठमाडौं, १४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीले उत्पादन गरेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर विभागले उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ ।
विभागले बजार अनुगमन क्रममा संकलन गरिएको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएको जनाएको हो । विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो । उपभोग्य मिति ६ महिना र ब्याच नम्बर २० रहेको उक्त तेलको उत्पादन मिति २८ फागुन २०८२ रहेको हो । साथै, उक्त तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिइएको छ ।
विभागले प्रयोगशालामा विश्लेषण गर्दा तेलका विभिन्न प्यारामिटरहरू सरकारले तोकेको मापदण्ड अनुसार नपाइएको भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाएको छ ।यससँगै अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सबै तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्ने छ भने उपभोक्तालाई पनि यस्तो तेल प्रयोग नगर्न सचेत गराइएको छ ।
















