अनुगमनमा कैफियत भेटिएका ९ व्यावसायिक फर्म कारबाहीमा
वि.सं.२०८३ जेठ २१ बिहीवार ११:०३
shares

काठमाडौं, २१ जेठ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका विभिन्न नौ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले बुधवार गरेको नियमित बजार अनुगमनमा संरक्षण ऐनबमोजिम काम नगर्ने ती फर्मलाई जरिबाना तथा आवश्यक निर्देशन दिएको हो ।
विभागका अनुसार ललितपुर महानगरपालिकास्थित टाउन ब्वाइज एन्ड गल्र्स होस्टेललाई ५० हजार रुपियाँ जरिबाना गरिएको छ । उक्त होस्टेलले उपभोक्ता संरक्षण ऐनविपरीत दर्ता नवीकरण नभई सञ्चालन भएको पाइएपछि जरिबाना गरेको विभागले जनाएको छ ।
यस्तै विभागको अनुगमन टोलीले ललितपुरको जावलाखेलस्थित ब्ल्यु फक्स रेस्टुरेन्टलाई २० हजार रुपैयाँ, काठमाडौँ महानगरपालिकास्थित बौद्धस्थित साम्भाला होम प्रालिलाई १० हजार र सोही स्थानमा रहेको कोल्ड एन्ड हट स्पाइसी नुडल्सलाई पाँच हजार रुपैयाँ जरिबाना गरेको जनाएको छ । अनुगमनकै क्रममा अन्य पाँच वटा व्यावसायिक प्रतिष्ठानलाई भने सुधारको निर्देशन दिएर छोडिएको छ ।
विभागले बजारमा हुन सक्ने अवाञ्छित गतिविधि र उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिँदै आएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
















