साउनदेखि सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गरिने
वि.सं.२०८३ जेठ २५ सोमवार १०:२५
shares

काठमाडौं, २५ जेठ। सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य रूपमा आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाइ स्वास्थ्य बीमा कार्यक्रममा समेटिनेछ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने उद्देश्यले सरकारले सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गराएको हो । स्वास्थ्य सचिव डा. विकास देवकोटा का अनुसार स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट दोब्बर गरिएको छ । यसअघि सात अर्ब रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि पन्ध्र अर्ब रुपैयाँ छुट्याइएको हो ।
सरकारले गरिब तथा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल चुनौतीपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई अठार अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । भुक्तानी नहुँदा निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित भएका छन् ।
















