Dhulikhel Eco Banner new

देशका धेरै भागमा आज वर्षाको सम्भावना, चट्याङको पनि जोखिम

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो दिन हुने

1.21K
shares

काठमाडौं — जल तथा मौसम विभागले आज देशका विभिन्न भूभागमा आंशिक बादलदेखि मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ। हिमाली र पहाडी क्षेत्रमा बढी बादल लाग्ने र केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

दिउँसोको समयमा कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा भने आंशिक बादल मात्र रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा पर्न सक्नेछ। सुदूरपश्चिम प्रदेशको तराईका एकाध स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति भने देशभर नै साधारणतया बादल लाग्ने अनुमान छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली भूभाग र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।