महिला लघुवित्तमा कर्मचारी माग, कुन पदका लागि कति योग्यता चाहिन्छ ?
वि.सं.२०८३ असार ९ मंगलवार १२:४८
shares

काठमाडौ, ९ असार । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको छ।
कम्पनीले व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका पदहरू खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, कनिष्ठ सहायक, सहयोगी चौथो र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि दरखास्त मागेको छ।
वरिष्ठ प्रबन्धक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष र वरिष्ठ अधिकृत तहमा ४ वर्ष कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। साथै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि अनिवार्य गरिएको छ। त्यसैगरी सहायक प्रबन्धक पदका लागि स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष तथा वरिष्ठ अधिकृत पदमा १ वर्षको अनुभव आवश्यक पर्ने जनाइएको छ।
कनिष्ठ सहायक पदका लागि एसएलसी वा एसईई उत्तीर्ण गरी कम्तीमा १.६ जीपीए प्राप्त गरेको वा सो सरह योग्यता हासिल गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। दुई पाङ्ग्रे सवारी साधन र चालक अनुमति पत्र भएकालाई समेत विशेष प्राथमिकता दिइनेछ।
यस्तै सहयोगी चौथो पदका लागि आठ कक्षा उत्तीर्ण गरी दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। एसएलसीरएसईई उत्तीर्ण उम्मेदवारलाई विशेष प्राथमिकता प्रदान गरिनेछ। यता कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा आवेदन दिन एसएलसी वा एसईई परीक्षामा कम्तीमा १.६ जीपीए प्राप्त गरेको वा सो सरह योग्यता हासिल गरेको हुनुपर्नेछ।
व्यवस्थापकीय तथा कार्यकारी श्रेणीका उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक तथा सहयोगी श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारका हकमा माथिल्लो उमेर हदमा ५ वर्षसम्म छुट दिइनेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीको वेबसाइट मा गएर अनलाइन मार्फत आवेदन दिनु पर्नेछ।















