Dhulikhel Eco Banner new

हवाई भाडा बढ्यो, कहाँको भाडा कति पुग्यो ?

15.94K
shares

काठमाडौं, २३ असार । निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक तर्फको हवाइ भाडा बढाएका छन् । इन्धनको मूल्य वृद्धि भएपछि नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो । इन्धनको मूल्य बढेसँगै हवाई भाडासमेत बढेको हो । यसरी बिहीबारबाट लागु हुने गरी हवाई इन्धनको नयाँ मूल्य १९० रुपैयाँ तोकिएको छ ।

संघले तोकेको नयाँ भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं धनगढीको २२० रुपैयाँ भाडा बढेको छ । अब धनगढी जानकालागि १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । त्यस्तै नेपालगन्जको भाडा १६५ रुपैयाँ बढेर १३ हजार ९८० रुपैयाँ पुगेको छ ।

सबैभन्दा कम भाडा काठमाडौं भरतपुरको ५५ रुपैयाँले बढेको छ । अब भरपुर पुग्नका लागि ४ हजार ९९० रुपैयाँ लाग्ने भएको छ । त्यस्तै काठमाडौं पोखराको भाडा ८० रुपैयाँले बढेको छ । अब काठमाडौंबाट पोखरा जानका लागि ६ हजार ९८५ रुपैयाँ भाडा लाग्ने भएको छ ।

यसैगरी, काठमाडौंदेखि भैरहवासम्मको भाडा १०० रुपैयाँले बढेर ८ हजार ६७५ रुपैयाँ कायम भएको छ । काठमाडौं तुम्लिङटारसम्मको भाडा ९५ रुपैयाँले बढेर ८ हजार २०५ रुपैयाँ र सिमरा ४५ रुपैयाँले बढाएर ४ हजार २४० रुपैयाँ कायम भएको छ ।

संघले माउन्टेन फ्लाइटमा १७० रुपैयाँले भाडा बढाएर १४ हजार ८९० रुपैयाँ पुर्‍याएको छ भने काठमाडौंदेखि सुर्खेतसम्मको भाडा १७० रुपैयाँले बढेर १४ हजार ९९५ रुपैयाँ पुर्‍याइएको छ । काठमाडौंदेखि राजविराजसम्मको भाडा १०० रुपैयाँले बढेर ८ हजार ७५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्मको १५० रुपैयाँ बढेर १२ हजार ९५५ रुपैयाँ, काठमाडौंदेखि विराटनगर १२५ रुपैयाँले बढेर १० हजार २०५ रुपैयाँ कायम भएको छ । यस्तै, काठमाडौंबाट जनकपुरसम्म जान ५ हजार ८६० रुपैयाँ लाग्ने भएको छ । सो रूटमा पुरानो भाडादरमा ६५ रुपैयाँले वृद्धि भएको हो ।