Dhulikhel Eco Banner new

विद्यार्थीका टेक परियोजनाहरूको प्रदर्शनी सुरु, लगानीकर्ता र स्टार्टअपसँग जोड्ने लक्ष्य

559
shares

काठमाडौँ, ११ असार । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी काठमाडौँमा सुरु भएको छ । अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले आयोजना गरेको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २।०, २०२६’ मा विद्यार्थीका ५५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएका छन् ।

असार ११ र १२ गतेसम्म सञ्चालन हुने टेक तथा बिजनेस कार्निभलमा करिब १७० विद्यार्थी संलग्न परियोजनाहरू प्रदर्शनीमा राखिएको कलेजले जनाएको छ ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपलाई उजागर गर्दै उनीहरूलाई उद्योग, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्नु रहेको छ ।
यस वर्षको इन्नोभिस्टा पाँच प्रमुख प्राविधिक क्षेत्रमा केन्द्रित छ । कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता, आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी विभिन्न विधामा विद्यार्थीले तयार पारेका परियोजना प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीका आकर्षक परियोजनामा पुष्प वृष्टि गराउने एफपीभी ड्रोन, रोबो सकर्स अर्थात् फुटबल खेल्ने रोबोट, गीतमा नाच्ने डान्सिङ रोबोट, एआईमार्फत अनुहारको भाव पत्ता लगाई संगीत सिफारिस गर्ने इमोसन डिटेक्सन सिस्टम लगायत छन् ।

त्यस्तै, अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षासँग सम्बन्धित साइबर सुरक्षाका परियोजना पनि प्रदर्शनीमा राखिएका छन् ।स्मार्ट सिँचाइ प्रणाली, ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणालीसहितको स्मार्ट होम सिस्टम, पर्यटन प्रवर्द्धन गर्ने सफ्टवेयर तथा ३६० डिग्री क्यामेराबाट रिमोटमार्फत नियन्त्रण गर्न सकिने गाडी पनि कार्यक्रममा प्रदर्शन गरिएको छ ।

यी परियोजनाले प्रविधिको प्रयोगलाई दैनिक जीवन, सुरक्षा, कृषि, पर्यटन र व्यवसायसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।प्रेसिडेन्सियल ग्राजुएट स्कुलका संस्थापक एवम् अध्यक्ष लक्ष्मण केसीका अनुसार विद्यार्थीले तयार गरेका परियोजना केवल प्रदर्शनीका लागि मात्र नभई बजार र व्यावसायिक सम्भावनासँग पनि जोडिएका छन् ।

“नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” केसीले भने, “यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन् । अब यस्ता परियोजनालाई उद्योग, लगानीकर्ता र बजारसँग जोड्ने काममा हामी केन्द्रित हुनेछौँ ।”

उनका अनुसार स्कुलको बिजनेस इन्क्युबेसन सेन्टरमार्फत सम्भावना बोकेका परियोजनालाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग गरिनेछ । आईटी र बिजनेस अध्ययन गरिरहेका विद्यार्थीबीचको सहकार्यबाट परियोजनालाई बजार, लगानी र स्टार्टअपका लागि तयार पारिने कलेजको योजना छ ।

कार्यक्रममा भर्खर प्लस टु सकेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले पनि टेक्नोभर्सिटी प्याभिलियनमा आफ्नो इनोभेसन प्रदर्शनी गर्नेछन् । उनीहरूले एक सातासम्म प्रेसिडेन्सियल ग्राजुएट स्कुलका विद्यार्थीहरूको मेन्टरसीपमा परियोजना तयार पारेका हुन् । यस विधाका विजेतालाई एक लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।

यो कार्यक्रम प्लस टु उत्तीर्ण विद्यार्थी, स्नातक तहका विद्यार्थी, आईटीमा रुचि राख्ने युवा, उद्योगी, लगानीकर्ता तथा प्रविधि क्षेत्रमा भविष्य खोजिरहेका सहभागीका लागि लक्षित छ । प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङले इन्नोभिस्टा विद्यार्थीको सिर्जनशीलता प्रदर्शन गर्ने मात्र नभई उनीहरूलाई भविष्यका अवसरसँग जोड्ने प्लेटफर्म भएको बताइन् ।

उनका अनुसार वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्य, क्रेडिट ट्रान्सफर सुविधा, स्किल अप डिपार्टमेन्ट र उद्योगसँगको समन्वयमार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसर, रोजगारी र उद्यमशीलताका लागि तयार पार्ने लक्ष्य राखिएको छ ।

“यो इभेन्ट हरेक वर्ष आयोजना गरिनेछ । उद्योगी र लगानीकर्तालाई आमन्त्रण गरेर विद्यार्थीलाई रोजगारी र स्टार्टअप अवसरसँग जोड्ने हाम्रो उद्देश्य हो,” गुरुङले भनिन्, “यसले नेपालमा सूचना प्रविधि र व्यवसायका क्षेत्रमा नयाँ सम्भावना उजागर गर्दै भविष्यका नवप्रवर्तकलाई थप प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

हाल प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा करिब १४ सय विद्यार्थी अध्ययनरत छन् । स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी कार्यरत रहेको कलेजले जनाएको छ ।