सरकारको आश्वासनपछि खुल्ने भए इलामका चिया उद्योग
वि.सं.२०८३ असार ११ बिहीवार १६:४६
shares

काठमाडौं, ११ असार । भारतीय अवरोधका कारण बन्द भएका इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आउने भएका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले सरकार तथा स्थानीय तहबाट समस्या समाधानका लागि सकारात्मक पहल गर्ने आश्वासन पाएको भन्दै उद्योग खोल्ने बताएको हो।
नेपालबाट भारत पुगेका तयारी चियाको प्रयोगशाला परीक्षणका नाममा प्रत्येक गाडीबाट नमूना संकलन भएको र लामो समयसम्म रिपोर्ट नआएको भन्दै उद्योगहरूले उत्पादन रोक्ने निर्णय गरेका थिए। कोलकातामा र नेपालमै पनि गोदाममा ठूलो परिमाणमा तयारी चिया थन्किएको कारण देखाउँदै असार १ देखि इलामका उद्योगहरू बन्द भएका थिए। असार ४ देखि बन्द रहेका झापाका उद्योगहरू अझै बन्द नै छन्। चिया उद्योगहरू ठप्प हुँदा हजारौं चिया किसान, आश्रित श्रमिक, उद्योगी तथा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
चिया उद्योग र बगानहरू बन्द भएपछि उत्पन्न संकट समाधानका लागि उद्योगीहरूले प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, मन्त्री, सचिव, विज्ञ तथा सरोकारवाला निकायहरूसँग छलफल गरेका थिए। सोही छलफलको परिणामस्वरूप चिया क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ।
‘पटक–पटक उच्चस्तरीय कार्यदल तथा सरोकारवाला निकायहरूसँग भएको छलफल, गुणस्तरीय चिया उत्पादनप्रति हाम्रो प्रतिबद्धता तथा दीर्घकालीन समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिको विशेष अनुरोधलाई र सम्पूर्ण किसानहरूको समस्यालाई मध्यनजर गर्दै, हामीले असार १२ गतेदेखि उद्योग सञ्चालन गर्ने निर्णय गरेका छौँ,’ सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूले भने।


















