Dhulikhel Eco Banner new

ओम मेगाश्री फर्मास्युटिकल्सको विशेष साधारण सभा असार २८ गते हुने

1.11K
shares

काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीको सञ्चालक समितिको २०८३ असार ११ गते बसेको बैठकको निर्णयअनुसार विशेष साधारण सभा २०८३ असार २८ गते आइतबार बिहान ९ बजे चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा हुने भएको हो।

सभामा रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, हालसम्म भएका कामकारबाही अनुमोदन गर्ने, ड्यू डिलिजेन्स अडिट प्रतिवेदन तथा सम्पत्ति–दायित्व मूल्याङ्कनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गर्ने लगायतका प्रस्तावहरू छलफलका लागि पेश गरिनेछ।

त्यसैगरी, प्राप्तिपश्चात् रोयल फर्मास्युटिकल्सका शेयरधनीहरूलाई स्वीकृत शेयर स्वाप अनुपातअनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ।

प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए सोसम्बन्धी प्रस्ताव पनि पारित गर्ने तयारी गरिएको छ। साथै, नियामक निकायहरूबाट प्राप्त हुने निर्देशन, स्वीकृति वा सुझावअनुसार आवश्यक संशोधन, परिमार्जन तथा कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश छ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले २०८३ असार २२ गते एक दिन शेयर दाखिला खारेज बन्द गर्ने जनाएको छ। सो मितिसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कानुनबमोजिम शेयर रजिष्ट्रारमा कायम शेयरधनीहरूले सभामा भाग लिन पाउनेछन्।

सभामा सहभागी हुन शेयरधनीहरूले हितग्राही परिचय नम्बर वा शेयरधनी परिचयसँग सम्बन्धित परिचयपत्र ल्याउनुपर्नेछ। स्वयं उपस्थित हुन नसक्ने शेयरधनीले कानुनबमोजिम प्रतिनिधि वा प्रोक्सी नियुक्त गर्न सक्नेछन्। प्रोक्सी फारम भने सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ।