कटहरिया नगरपालिकाले ल्यायो ४८ करोड ७७ लाखको बजेट, कृषि र स्वास्थ्यलाई प्राथमिकता
वि.सं.२०८३ असार २२ सोमवार १४:३८
shares

काठमाडौं, २२ असार । रौतहटको कटहरिया नगरपालिकाले जनमुखी स्थानीय सरकारको विकास, समृद्धिको आधारू भन्ने नारासहित सोमबार १२औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन सम्पन्न गरेको छ।
नेपाल सरकारको प्रचलित कानुनी व्यवस्था अनुसार प्रत्येक स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट असार १० गतेभित्र नगरसभा (गाउँसभा) मार्फत पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर कटहरिया नगरपालिकामा देखिएको आन्तरिक विवादका कारण नगरसभा निर्धारित समयमा हुन नसकी असार २२ गते सम्पन्न भएको हो।
नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु.४८ करोड ७७ लाख ४७ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ३३ करोड ८८ लाख ७२ हजार तथा पुँजीगततर्फ रु १४ करोड ८८ लाख ७५ हजार विनियोजन गरिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पशुपालन, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा तथा रोजगार प्रवर्द्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा नगर उपप्रमुख रीता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, लेखा प्रमुख कामेश्वर सहनी, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरसभाबाट आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको नगरपालिकाले जनाएको छ।



















