इजिप्टविरुद्ध सनसनीपूर्ण पुनरागमन, अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा
मेसीका नाममा थप कीर्तिमान
वि.सं.२०८३ असार २४ बुधवार ०६:५७
shares

साविक विजेता अर्जेन्टिनाले नाटकीय पुनरागमन गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनल यात्रा तय गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको अन्तिम १६ को खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेको हो।
खेलको अधिकांश समय दबाबमा रहेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। ७९औं मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शन निर्णायक बन्यो।
इजिप्टले खेलको १५औं मिनेटमै अग्रता लिएको थियो। यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै अफ्रिकी टोलीलाई सुरुवाती सफलता दिलाएका थिए। दोस्रो हाफमा पनि इजिप्टले आफ्नो अग्रता कायम राख्दै खेलमा पकड बनाइरहेको थियो।
६७औं मिनेटमा हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गरेपछि इजिप्ट २–० को बलियो स्थितिमा पुगेको थियो। तर, त्यसपछि अर्जेन्टिनाले खेलको दिशा नै परिवर्तन गर्यो।
७९औं मिनेटमा मेसीको पासलाई सदुपयोग गर्दै क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गरेपछि अर्जेन्टिनाले पुनरागमनको संकेत दिएको थियो। त्यसको पाँच मिनेटपछि मेसी आफैंले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए।
निर्धारित समयपछि थपिएको इन्जुरी टाइमको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए। अन्तिम क्षणसम्म उत्कृष्ट संघर्ष गरेको इजिप्ट भने विश्वकप यात्राबाट बाहिरिएको छ।
अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मेसीका नाममा थप कीर्तिमान
इजिप्टविरुद्ध गोल गरेसँगै लियोनल मेसीले विश्वकप इतिहासमा थप नयाँ कीर्तिमान बनाएका छन्। उनी विश्वकपका लगातार नौ खेलमा गोल गर्ने खेलाडी बनेका छन्।
मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीमध्ये शीर्ष स्थानमा छन्। उनले अहिलेसम्म विश्वकपमा ३१ खेल खेलेका छन् भने २१ गोल गरेका छन्। यस्तै, उनी ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।
विश्वकपको नकआउट चरणमा लगातार छ खेलमा गोल गर्ने पहिलो खेलाडीको उपलब्धि पनि मेसीकै नाममा पुगेको छ। यसैगरी विश्वकपमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमानसमेत उनले बनाएका छन्।
जारी विश्वकपमा आठ गोल गरिसकेका मेसी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। यद्यपि, उनले यस प्रतियोगितामा दुईवटा पेनाल्टी भने सदुपयोग गर्न सकेका छैनन्। समूह चरणमा अस्ट्रियाविरुद्ध पेनाल्टी गुमाएका मेसीले इजिप्टविरुद्धको खेलमा पनि पेनाल्टीबाट गोल गर्न सकेनन्।

















