Dhulikhel Eco Banner new

एम्बाप्पेको चम्किलो प्रदर्शनमा फ्रान्स विश्वकप २०२६ को सेमिफाइनलमा

689
shares

कप्तान केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनसँगै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा फ्रान्सले मोरोक्कोलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

बोस्टन स्टेडियममा शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको सुरुवातदेखि नै फ्रान्सले बलमा नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। पहिलो हाफमै पाएको पेनाल्टीमा कप्तान एम्बाप्पेको प्रहार मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरेका थिए।

तर दोस्रो हाफमा एम्बाप्पेले खेलको दिशा नै परिवर्तन गरे। खेलको ६०औँ मिनेटमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि एम्बाप्पेको उत्कृष्ट पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए।

यस जितसँगै दुई पटकको विश्वकप विजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेता बनेको थियो।

प्रतियोगितामा एम्बाप्पेको यो आठौँ गोल हो। उनले फ्रान्सका लागि विश्वकप २०२६ का सबै ६ खेलमा गोल गरेका छन्। गोल्डेन बुटको दौडमा उनी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग समान ८ गोलमा छन्। बढी असिस्टका आधारमा एम्बाप्पे शीर्ष स्थानमा रहेका छन्।

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि एम्बाप्पेले आफ्नो स्थान बलियो बनाएका छन्। उनी २० गोलसहित दोस्रो स्थानमा पुगेका छन् भने शीर्ष स्थानमा २१ गोलसहित लियोनेल मेस्सी रहेका छन्।

मोरोक्कोविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।

अब फ्रान्सले विश्वकप २०२६ को सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।