Dhulikhel Eco Banner new

आज अधिकांश क्षेत्रमा मध्यम वर्षा, केही ठाउँमा भारी वर्षाको चेतावनी

689
shares

काठमाडौं, ३० असार । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र आज राति विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो। यसका कारण देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने र मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, मधेस प्रदेशसहित पहाडी तथा तराई क्षेत्रमा मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम विभागले वर्षाका कारण नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र भू–क्षयको जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनालाई नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।