Dhulikhel Eco Banner new

टमाटर किसानको आन्दोलनपछि सरकार सक्रिय, कालीमाटीबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु

754
shares

काठमाडौं, ३२ असार । टमाटरको उचित मूल्य नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलमा किसानहरूले सडकमा टमाटर फालेर विरोध प्रदर्शन गरेपछि सरकार सक्रिय बनेको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट उपत्यका बाहिर टमाटर ढुवानी सुरु गरिएको छ।

बुधबार बिहान प्रदर्शनमा उत्रिएका किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारसँग माग गरेका थिए। त्यसलगत्तै मन्त्री चौधरीले आन्दोलनरत किसानलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्।

छलफलका क्रममा किसानहरूले सहज बजार पहुँच, उत्पादनको उचित मूल्य तथा बजारमा देखिएको असन्तुलन हटाउन सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए। मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै बजार व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको जानकारी दिइन्।

मन्त्रालयको पहल र कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा काठमाडौं उपत्यका बाहिर टमाटरको माग भएका विभिन्न जिल्लामा ढुवानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। यसबाट किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा टमाटरको आपूर्ति सन्तुलित हुने अपेक्षा गरिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले किसानको उत्पादनलाई उचित बजार र मूल्य उपलब्ध गराउन बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाएको छ।