Dhulikhel Eco Banner new

अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खातामा कारोबार गर्न नपाइने

1.14K
shares

काठमाडौं, ३२ असार । अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खातामा कारोबार गर्न नपाइने भएको छ । बैंक खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

यसअघि बैंकहरूले १ माघ २०८१ देखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेका थिए । अब पुराना खाताहरूमा पनि यसलाई अनिवार्य गर्न लागिएको हो । यसका लागि नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा खाता रहेका सबै नेपाली नागरिकहरूका लागि राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थालाई थप कडा बनाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ मा परिमार्जन गर्दै आगामी २०८३ असोज मसान्तभित्र आ–आफ्नो बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक  गरिसक्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको पछिल्लो परिपत्र अनुसार अब ग्राहकहरूले बैंक नै नगई डिजिटल माध्यमबाटै सजिलै आफ्नो विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ । नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना खातावालाहरूसँग मोबाइल एप वा अन्य उपयुक्त डिजिटल माध्यमबाट राष्ट्रिय परिचयपत्र भए÷नभएको स्वघोषणा लिनुपर्नेछ ।

यसका साथै, राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकहरूको हकमा बैंकहरूले आगामी २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर लिएर विवरण अद्यावधिक गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।