सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
वि.सं.२०८३ असार ३२ बिहीवार १२:४१
shares

काठमाडौं, ३२ असार । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३ बोरा पोटास मल बिक्री वितरण गरिएको जनाएको छ ।
हाल कार्यालयबाट नौ हजार २०० बोरा युरिया र एक हजार बोरा डीएपी बिक्री भइरहेको छ । थप बिक्रीका लागि कार्यालयमा सात हजार ८०२ बोरा युरिया, दुई हजार ८६६ बोरा डीएपी र १२ हजार ४२५ बोरा पोटास मौज्दात रहेको कार्यालयले जनाएको छ । हाल ५० केजी युरियाको मूल्य रु ८४७, डीएपीको रु दुई हजार २९७ र पोटासको रु एक हजार ६९७ कायम रहेको छ ।
जिल्लाका सूचीकृत बिक्रेतामार्फत सरकारले तोकेको अनुदानित मूल्यमा रासायनिक मल बिक्री वितरण भइरहेको शाखा कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिए । उनले सरकारले दिएको जिम्मेवारीअनुसार रोपाइँखेतीको मुख्य याममा कृषकलाई मलको अभाव हुन नदिन समयमै अनुदानित रासायनिक मल उपलब्ध गराइ स्थानीय तहको सिफारिसका आधारमा बिक्री वितरण गर्दै आएको जानकारी दिए ।
गत आर्थिक वर्ष चितवनमा ४२ हजार २०१ बोरा युरिया, २१ हजार ५८४ बोरा डीएपी र एक हजार ८४२ बोरा पोटास बिक्री वितरण भएको कार्यालयले जनाएको छ ।


















