वर्षा बढेसँगै नवलपुरमा धान रोपाइँ तीव्र, ८० प्रतिशत क्षेत्रफलमा सम्पन्न
वि.सं.२०८३ असार ३२ बिहीवार १३:१३
shares

काठमाडौं, ३२ असार । नवलपरासीमा पर्याप्त वर्षा हुन थालेपछि नवलपुरमा धान रोपाइँले गति लिएको छ । जिल्लामा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।
कूल १८ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुने जिल्लामा करिब १४ हजार ८०० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि अर्थविज्ञ सञ्जय ढकालले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय लगातार वर्षा भएपछि तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँ तीव्र बनेको छ भने पहाडी क्षेत्रका केही स्थानमा अझै रोपाइँ जारी छ ।
गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही क्षेत्रमा भने अझै रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
“मनसुन सुरु हुँदा केही कमजोर रहे पनि पछिल्ला दिनमा पर्याप्त वर्षा भएपछि किसानले धमाधम रोपाइँ गरिरहेका छन्,” अर्थविज्ञ ढकालले भने, “मौसम अनुकूल रहे केही दिनमै अधिकांश क्षेत्रमा रोपाइँ सकिने अपेक्षा गरेका छौँ ।”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँकी ४५ प्रतिशत क्षेत्रका किसान अझै आकाशे पानीमा निर्भर छन् ।
नवलपुरमा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धान खेती हुँदै आएको छ । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने यस वर्ष १८ हजार ५०० हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य राखिएको छ । मौसम अनुकूल रहे लक्ष्यअनुसार सबै क्षेत्रमा समयमै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ


















