Dhulikhel Eco Banner new

नेपाल टेलिकमको फोरजी सेवा मुगु–बाजुराका दुर्गम बस्तीमा विस्तार

962
shares

काठमाडौं, १ साउन । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ नेटा र वडा नम्बर ५ कुवाडीमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको हो।

सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। साथै, सेवाको दिगोपन र आवश्यकताअनुसार विस्तारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

नेपाल टेलिकमका अनुसार बाजुराको नेटा क्षेत्रमा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला लगायतका बस्ती र गुम्बा क्षेत्रमा सेवा पुगेको छ। यसले बाजुराबाट रानिसैन जाने पदमार्गसमेत समेटेको छ। त्यस्तै, कुवाडीमा सञ्चालनमा आएको सेवाले कुवाडी खोलाको संगम आसपासका गाउँहरू तथा हुम्लाको ताँजाकोट–२ जाने मार्गसम्म कभरेज विस्तार गरेको कम्पनीले जनाएको छ।

फोरजी सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस कल तथा एसएमएस सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्। यसबाट सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने तथा स्थानीय आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ अवधारणाअनुसार देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।