Dhulikhel Eco Banner new

अमेरिकाले इरानमाथिको ठूलो सैन्य आक्रमण रोक्यो, तर मध्यपूर्वमा तनाव अझै चर्किँदै

299
shares

काठमाडौं, १० साउन । अमेरिकाले इरानविरुद्ध जारी सैन्य अभियान तत्कालका लागि थप विस्तार नगर्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष सुरक्षा सल्लाहकार र मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकपछि इरानमाथि थप ठूला सैन्य आक्रमण रोक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

द न्यूयोर्क टाइम्स र एक्सियोसका अनुसार अमेरिकी सेनाका उच्च अधिकारीहरूले अभियान लम्बिँदै गए मध्यपूर्वमा तैनाथ अमेरिकी फौजको हवाई प्रतिरक्षा क्षमता कमजोर बन्न सक्ने चेतावनी दिएका थिए। विशेषगरी प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य हवाई प्रतिरक्षा प्रणालीको मौज्दात तीव्र रूपमा घट्दै गएको निष्कर्षपछि ट्रम्प प्रशासनले ठूलो सैन्य कारबाही रोक्ने निर्णय गरेको बताइएको छ।

संयुक्त सैन्य प्रमुख ९ज्वाइन्ट चिफ्स अफ स्टाफ० का अध्यक्ष जनरल ड्यान केनले अभियान विस्तार भए मध्यपूर्वमा रहेका अमेरिकी सैनिक र सहयोगी राष्ट्रहरूको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने सुझाव दिएका थिए। रिपोर्टअनुसार अमेरिका अप्रिलको अन्त्यसम्म १,२०० भन्दा बढी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ।

यद्यपि यो निर्णय अस्थायी हो वा दीर्घकालीन भन्ने विषयमा अमेरिकी प्रशासनले कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन। आवश्यक परे अमेरिकी सेना पुनः ठूलो सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहने जनाइएको छ।

यसबीच, अमेरिकाले लगातार १३ रातसम्म इरानमाथि हवाई आक्रमण गरेपछि शुक्रबार रात पहिलो पटक कुनै बमबारी नगरेको पनि उल्लेख गरिएको छ। तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै पेन्टागनले मध्यपूर्वमा थप सैनिक, हतियार तथा प्रतिरक्षा प्रणाली परिचालन गरिरहेको बताइएको छ।

मध्यपूर्वमा तनाव अझै कायम

अमेरिकाले आक्रमण रोके पनि क्षेत्रीय तनाव भने कम भएको छैन। पछिल्लो २४ घण्टामा भएका घटनाक्रमले अवस्था अझ जटिल बन्दै गएको संकेत गरेका छन्।

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको जजानस्थित अरामको तेल प्रशोधन केन्द्रमा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेका छन्। उक्त रिफाइनरी साउदी अरेबियाको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र मानिन्छ।

त्यस्तै, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य हुँदै गइरहेका चार जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरेपछि ती जहाजहरूले मार्ग परिवर्तन गरेको जनाएको छ।

इरानले देशभित्र पेट्रोलियम पदार्थको अत्यधिक खपत नियन्त्रण गर्न पेट्रोलको मूल्य वृद्धि गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ। साथै, बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडामा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी पनि गरेको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

कुवेतको अस्वीकार र इरानभित्र विवाद

इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा आफ्नो भूमिका रहेको भन्ने समाचारलाई कुवेत सरकारले पूर्ण रूपमा अस्वीकार गरेको छ। कुवेतले आफ्नो भूमि, हवाई क्षेत्र वा समुद्री मार्ग कुनै पनि सैन्य आक्रमणका लागि प्रयोग गर्न नदिएको स्पष्ट पारेको छ।

यता, इरान सरकारले सरकारी टेलिभिजनमाथि राष्ट्रपति मसुद पेजेशकियनको सम्बोधनको महत्त्वपूर्ण अंश प्रसारण नगरी सेन्सर गरेको आरोप लगाएको छ। सरकारका अनुसार अमेरिकासँग वार्ता सुरु गर्ने निर्णय सर्वोच्च नेताको निर्देशनमा भएको भन्ने राष्ट्रपतिको भनाइ प्रसारण नगरिएको हो। सरकारी टेलिभिजनले भने नेतृत्वबीच मतभेद रहेको गलत सन्देश नजाओस् भन्ने उद्देश्यले सम्पादन गरिएको दाबी गरेको छ।

यूक्रेन र इजराइलमाथि इरानको आरोप

इरानले क्यास्पियन सागरमा आफ्ना व्यापारिक जहाजमाथि भएको कथित आक्रमणको विरोधमा यूक्रेनका कूटनीतिज्ञलाई तलब गरेको जनाएको छ। उक्त घटनामा एक नाविकको मृत्यु भएको र अर्का एक घाइते भएको इरानको दाबी छ।

त्यसैगरी, इरानले इजराइलले अमेरिकालाई उक्साएर इरानविरुद्ध सैन्य वातावरण सिर्जना गर्न खोजेको आरोप लगाउँदै पुनः युद्ध सुरु भए कडा जवाफ दिने चेतावनी दिएको छ।

अमेरिकामा सुरक्षा सतर्कता

हालै जोर्डनमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकी सुरक्षा निकायको चिन्ता बढेको बताइएको छ। एक वरिष्ठ अधिकारीका अनुसार इरानी ब्यालेस्टिक मिसाइलले अमेरिकी सुरक्षा प्रणाली छल्दै लक्ष्य नजिक पुग्न सफल भएको थियो।

यद्यपि अमेरिकाले हालका लागि ठूलो सैन्य अभियान स्थगित गरेको देखिए पनि मध्यपूर्वको सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले क्षेत्रीय तनाव तत्काल कम हुने संकेत देखिएको छैन।