Dhulikhel Eco Banner new

साइबर सुरक्षा उपकरण किन्दै धितोपत्र बोर्ड, बोलपत्र आह्वान

403
shares

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो सूचना प्रविधि तथा नेटवर्क पूर्वाधारका लागि फायरवाल र म्यानेजेबल स्विच खरिद प्रक्रिया अघि बढाएको छ। बोर्डले फायरवालसँगै लेयर–३ र लेयर–२ म्यानेजेबल स्विच आपूर्ति, डेलिभरी तथा जडानका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो।

खरिद प्रक्रिया ‘सिंगल स्टेज टु इन्भेलोप’ प्रणालीबाट हुनेछ। यसअनुसार बोलपत्रदाताले प्राविधिक र मूल्य प्रस्ताव छुट्टाछुट्टै पेश गर्नुपर्नेछ।

इच्छुक कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। यसको शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

बोर्डले भदौ ५ गते दिउँसो २:३० बजे पूर्वबोलपत्र बैठक राखेको छ। बोलपत्र भदौ १५ गते दिउँसो १२ बजेसम्म विद्युतीय माध्यमबाट पेश गर्नुपर्नेछ भने सोही दिन दिउँसो १ बजे खोलिनेछ।

बोलपत्रदाताले कम्तीमा १ लाख ४० हजार रुपैयाँको जमानत राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि ९० दिन रहने र जमानत त्यसपछि थप ३० दिनसम्म कायम हुनुपर्ने व्यवस्था गरिएको छ।

फायरवाल र नेटवर्क स्विच खरिदले बोर्डको नेटवर्क व्यवस्थापन तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गर्ने उद्देश्य राखेको देखिन्छ।